कविता :-होला र के उन्नति (शार्दूलबिक्रीडित )

तुलसीप्रसाद भट्टराई

दाह्री पाल्छ कपाल पार्छ जगटा काट्दैन नङ्ग्रा पनि
कस्तो सभ्य भनिन्छ यो तरहले मान्छे अनौठो बनि
दाह्री केश ठुलो भएर कसरी विद्वान बन्ला नर
दाह्रीमा र कपालमा पुरुषको शिक्षा लुकेको छ र ?

पाल्थे रे ऋषिले भनेर अहिले देला कुनै उत्तर
बस्थे जंगलमा गएर ऋषि ता मान्छे कहाँ सक्छ र
हावा मात्र पिएर मस्त सँगले बस्थे महात्मा जन
के सक्ला र मनुष्य गर्न त्यसरी अभ्यासको साधन ?
ठूला तान्त्रिक शिद्धहस्त तपसी ध्यानीहरू सम्मत
हामी मानिसमा छ ताकत कहाँ पुग्ला र के हिम्मत
मात्रै नक्कल गर्दछौँ मनुजले सक्ने कुराको जति
बिर्सिन्छौ असली कुरा भुवनमा होला र के उन्नति ?
बाह्रै मास गरेर मुण्डन सफा सानो शिखा छोडनु
दाह्री काट्नु चटक्क दैनिक जसो चिल्लो गरी मोडनु
टोपी चन्दन अस्त्र हो पुरुषको सौन्दर्य झल्काउने
राख्ने चुस्स गरे जुँघा पुरुषले गाम्भिर्यता ल्याउने ।
योगाध्यान महत्त्व पूर्ण विधि हो आरोग्यको साधना
भान्सा शुद्ध गरेर खान्छ जसले पुग्ला मनोकामना
आफ्नो देह सधैं नियन्त्रण गरे टर्ला अरू दुर्गति
दाह्री मात्र बढेर झ्याम्म बनिदा होला र के उन्नति ?

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →