कविता -यो देश नेपालमा (शार्दूलबिक्रीडित )

कोही नारद झै कुरा दुहुनमा बाठो भयो कर्ममा
कोही शान्ति बिथोल्छ तैपनि कतै पर्दैन ऊ शर्ममा
कोही भ्रष्ट लवस्तरो छ लुटमा यो देशको सम्पति
कोही मख्ख परेर बस्छ घरमा जोडी मिली दम्पती ।

कोही पुर्वजको महान महता बिर्स्यो पलायन् भयो
कोही मुल्य चुकाउदैछ पसिनाअर्कै मुलुक्मा गयो
कोही जागिरमा छ मस्त तर ऊ जान्दैन केही पनि
कोही घूसबिना पटक्क कहिले चाल्दैन खुट्टो अनि ।
कोही धर्म परम्परा डलरमा साट्दै दगुर्दै छरे
कोही रुन्छ हुँदैन खान घरमा रित्तो छ भाँडो अरे
कोही नाच्छ रमाउँदै सडकमा चित्कारका तालमा
कोही रक्त पिपासु हुन्छ नरको हत्या बलत्कारमा ।
कोही साधु भएर मन्दिर गुफा खोजेर बस्ला बरु
कोही नैतिकहीन हुन्छ ठग झै गर्दैछ धन्दाहरू
कोही सन्त सफा छ भित्र मनको सेवागरौँ भन्दछ
कोही दैनिक लुट्छ देशजनता मान्छे कहाँ गन्दछ ।
कोही दु:ख छ जेनतेन जसरी टार्दैछ आफ्नो घर
कोही पन्द्र तला थपेर घरमा पुग्दो भयो भन्छर
कोही छैन सचेत देश प्रतिको सद्भावको तालमा
चासो छैन कतै कसै सित यहाँ यो देश नेपालमा ?
तुलसीप्रसाद भट्टराई
बिर्तामोड झापा

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →